Thursday, April 30, 2015

ठूला भूकम्पमा पनि पशुपतिनाथ जस्ताको तस्तै
एजेन्सी : शनिबार गएको महाभूकम्पले काठमाडौंसहित करिब आधा नेपाल क्षतविक्षत बनायो । पाँच हजार बढी मानिसले ज्यान गुमाए । १० हजार बढी मानिस घाइते भए । लाखौं मानिस घरबार गुमाउन बाध्य भए ।
शनिबार भूकम्पको झट्काले काठमाडौं र पशुपति मन्दिर आसपासमा वितण्डा मच्चाइरहँदा पशुपतिनाथको मन्दिर भने जस्ताको तस्तै खडा थियो । जुन बेला काठमाडौंमा भूकम्पले ताण्डब मच्चायो, सो समयमा पशुपतिनाथ मन्दिर परिसरमा सयौं भक्तजन दर्शन गरिरहेका थिए ।
पशुपतिनाथ परिसरमा रहेका भक्तजनले काठमाडौंको धर्ति काँपिरहँदा भोलेनाथले आफूहरुलार्इ नयाँ जिन्दगी दिएको प्रतिक्रिया दिएका छन् ।भूकम्पबाट पशुपतिनाथ जोगिएको यो पहिलो पटक होइन । वि.स‌. १९९० सालमा गएको ८.३ म्याग्निच्यूटको भूकम्प जाँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै असर परेन ।
त्‍यसभन्दा अघि आएका करिब ४ वटा ठूला भूकम्पले पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति गर्न सकेन । वि.सं‌. १९९० सालको भूकम्पले धरहरासहितका काठमाडौंका अधिकांश मठमन्दिर ढलेका थिए ।  तर त्यसबेला पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति पुगेन ।

भूकम्पले काठमाडौंका देवीदेवताका सयौं मन्दिर र संरचना ध्वस्त भए । तर,  काठमाडौंकै पशुपतिनाथको मन्दिरमा भूकम्पले अलिकति पनि क्षति पुर्याउन सकेन ।
भूकम्पले सुन्धाराको नौतले धरहरा पनि माटोमा मिल्यो । बसन्पुरमा रहेका काष्ठमण्डप, माजुदेवल, जोशीदेवल, कृष्ण मन्दिर, शिव मन्दिर, तलेजु भवानीको मन्दिर, पाटनका मन्दिर र साँखुका सबै मठमन्दिर ध्वस्त हुँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति भएन ।
भगवान पशुपतिनाथको मन्दिरमा सानो क्षति पनि नपुगेको देखेर धेरै मानिस आश्चर्यमा परेका छन् । यसअघि सन् २०१३ मा भारतको उत्तराखण्डमा आएको भीषण बाढी पहिरोमा केदरनाथको मन्दिरलार्इ क्षति नपुर्याएजस्तै यो पटक पशुपतिनाथको मन्दिर पनि त्यसैगरी जोगिएको छ ।
जुन २०१३ मा आएको प्रलयकारी बाढी पहिरोले भारतको उत्तराखण्डस्थित केदारनाथ आसपासको क्षेत्र सबै ध्वस्त भयो । तर, मन्दिरमा कुनै क्षति पुगेन ।
यो पटकको भूकम्पमा पशुपतिनाथसँग भएको यस्तै अद्भुत संयोगबारे सोच्न बाध्य पारेको छ । यी दुबै मन्दिरले यति ठूलो प्राकृतिक विपत्ति कसरी झेल्न सके ? यो प्रश्नको उत्तरको खोजीमा विज्ञहरुसमेत लागेका छन् ।  ७.९ म्याग्निच्यूटको भूकम्ले धरहरा र अन्य दरबारसहितका ऐतिहासिक महत्वका सं‌रचना ध्वस्त बनायो । पशुपतिनाथको मन्दिरमा भने कुनै क्षति नपुग्दा यसलार्इ कतिपयले चमत्कारकै रुपमा  लिइरहेका छ्न् ।
काठमाडौंकै सबैभन्दा पुरानो मानिने पाँचौ‌ शताब्दीको पशुपतिनाथ मन्दिर भूकम्पपछि पनि ज‍स्ताको तस्तै खडा छ । भूकम्पपछि यो मन्दिरको पटक पटक निरीक्षण गर्दा यसमा कुनै क्षति नभएको पाइयो ।
आसपासका संरचना भूकम्प र पहिरोले क्षतविक्षत पार्दा यी दुर्इ मन्दिर कसरी जोगिए होलान् ? सबैको जिज्ञासाको विषय बनेको छ । सबैभन्दा पहिले काठमाडौंको पशुपतिनाथको चर्चा गरौं ।
पशुपतिनाथको मन्दिरको गर्भगृह करिब एक मिटर अग्लो पर्खालमाथि बनाइएको छ । मन्दिरको चार सुरको अधिकतम भागको निर्माणमा काठको प्रयोग गरिएको छ । पशुपतिनाथमा चारवटा ढोका रहेका छन् ।
पशुपतिनाथको मन्दिर प्रतस्थापित गरिएको ठाउँमा चुम्बकीय तरंग धेरै घना रहेको छ। शिवलिङ्ग यस्तो स्थानमा राखिएको छ, जहाँ चुम्बकीय तरङ्गको न्यूक्लियर सेन्टर रहेको विज्ञहरुको भनाइ छ ।
पशुपतिनाथको गजुरको केन्द्र शिवलिङ्गको केन्द्रको सिधामाथि पर्ने गरी स्थापित गरिएको छ । यीनै कारणले भूकम्पको असर धेरै कम हुने गरेको छ ।
मन्दिरको मिलेको चौकोस, हलुंगो छत, काठबाट जोडिएको खम्बा र बलियो जोडार्इका कारण यो मन्दिरलार्इ भूकम्पले केही गर्न नसकेको अर्को तर्क छ ।
मन्दिरको बाहिरी स्वरुप प्राकृतिक विपत्तिले कयौं पटक क्षति गरेपनि यसको गर्भगृह पौराणिक कालदेखि आजसम्म सम्पूर्णरुपमा सुरक्षित रहेको छ ।

यस्तो छ पशुपतिनाथको गर्भगृह
ज्योतिर्लिङ्ग केदारनाथको किम्बदन्ती अनुसार पाण्डवको स्वर्गप्रयाणका क्रममा भगवान शंकरले पाण्डवहरुलार्इ भैंसीको रुप धारण गरेर दर्शन दिएका थिए । त्यसपछि भगवान शं‌कर धर्तिमा समाहित भएका थिए ।
त्यसक्रममा भीमले उनको पुच्छर पक्रन पुगे । जुन स्थानमा धर्तीबाहिर उनको पुच्छर अड्कियो, सो स्थान केदारनाथका रुपमा कहलियो । अर्कातिर जहाँ धर्तिबाहिर उनको मुख प्रकट भयो, त्यो स्थान पशुपतिनाथका नाममा कहलियो । यो कथाको पुष्टि स्कन्दपुराणले पनि गरेको छ ।
पशुपतिनाथको गर्भगृहमा एक मिटर अग्लो चारमुखी शिव लिङ्ग स्थापित गरिएको छ । शिवलिङ्गको प्रत्येक मुखाकृतिको दायाँ हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु बोकिएको छ ।

प्रत्येक मुखले अलग-अलग गुण देखाउँछन् । पहिलो दक्षिण मुखलार्इ अघोर भनिन्छ । दोस्रो पूर्व मुखलार्इ तत्पुरुष भनिन्छ । तेस्रो उत्तर मुखलार्इ अर्धनारिश्वर वा वामदेव भनिन्छ । चौथो पश्चिमी मुखलार्इ साध्योजटाले पुकारिन्छ । माथिल्लो भागको निराकार मुखलार्इ ईशान भनिन्छ ।
मान्यतानुसार पशुपतिनाथ चतुर्मुखी शिवलिङ्गलार्इ चारधाम र चार वेदको प्रतिक मानिन्छ । यहाँ भैंसीको रुप धारण गरेका भगवान शिवको शिरभाग रहेको छ । जसको पुच्छरको भाग भारतको उत्तराखण्डस्थित केदारनाथ मन्दिरमा रहेका छन् ।
काठमाडौंको बागमती नदी किनारमा अवस्थित  शुपतिनाथको मन्दिर सनातनधर्मका आठ सर्वाधिक पवित्र स्थलमध्ये एक रहेको छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ कति धेरै आस्था राख्छन् भन्ने कुराको यहाँ चर्चा गर्नै पर्दैन ।
भूकम्प गएकै दिन पनि धेरै भक्तजन पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । अहिले पनि पशुपतिको दर्शन गर्न जाने भक्तजन उत्तिकै छन् ।भूकम्प पीडित नेपालीहरु शक्ति र आशिष माग्दै पशुपतिनाथमा पुग्ने क्रम रोकिएको छैन ।
 www.annapurnapost.com bata

0 comments:

Post a Comment