विदेश, त्यहाँको कमाई, र केही वर्षपछि
साकार हुने ठानिएको एउटा मझौला सपना र त्यसले ल्याउने मानिएको ठूलो खुशी ।
अर्घाखाँचीबाट काठमाडौलाई ‘ट्रान्जिट’ बनाएर दुबई उड्नै लाग्दा ऋषि खनालको
मन यस्तै सपनाको पोको बोकेर हिंँडेको थियो ।
अन्य
कुरा यथावत रहेका भए अर्घाखाँचीका ऋषि खनाल अहिले दुबईको कुनै
सुपरमार्केटमा सामान मिलाइरहेका हुन्थे । तर भाग्य भनौ या दुर्भाग्य उनी
अहिले त्रिवि शिक्षण अस्पतालको बेड नंबर ७०८ मा छन् । उनी
दुबई जान पाएनन् र अस्पतालमा बस्नुपरेको छ । यसलाई दुर्भाग्य मान्ने हो
भने त्योभन्दा कैयौं गुणा ठूलो भाग्यले उनी बाँचेका हुन् ।
भनिन्छ जीवन सरल रेखामा चल्दैन ।
बाङ्गोटिङ्गो बाटोमा अनेकौं घुम्ती पार गर्दै जीवनको गाडी अघि बढिरहन्छ ।
दुबई हिँडेका ऋषि बसेको घर बिनासकारी भूकम्पले पुरेपछि उनीपनि त्यहाँ रहेका
अरु जस्तै बिते होलान् भन्ने अनुमान गरिएको थियो । काठमाडौंको नयाँ बसपार्कमा गेष्ट हाउसको कमी छैन । संयोगले ऋषि सयपत्री गेष्टहाउसमा पुगे । जसको
१०३ नम्बरको कोठा उहाँलाई दिइयो । वैशाख १४ गते दुबईको उडान थियो । काम
खासै केही थिएन । मेडिकल रिपोर्ट आउनुअघि केही किनमेल गर्नु थियो ।
बसपार्कमै किनेको झोलामा केहीजोर कपडा, साबुन, दन्तमञ्जन, स्याम्पु लगायतका
सामान राखिसकेका थिए । काठमाडौंका केही साथीसँग पनि एकसरो भेटघाट भैसकेको
थियो ।
वैशाख १२ गतेको पर्सिपल्ट उडान थियो ।
मेडिकल रिपोर्ट पनि आइसकेकाले काम केही थिएन । दिउँसो नयाँ बानेश्वरमा साथी
भेट्ने प्लान थियो । खाना खाएपछि बाहिर निस्कनै लाग्दा सिंगो घरै घुम्न
थाल्यो । रिंगटा लागेर भाउन्न भएजस्तो भयो खै के भएको हो कुरा नबुझ्दै उनी
रहेको सयपत्री होटलको भवन गल्र्याम्मै ढल्यो । अलि
पछि थाहा पाउँदा ऋषिलाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि
देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो । अँध्यारोमा छामछाम छुमछुम
गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन । आफू बसेको घर
लडेको र आफू त्यसमै च्यापिएको उनलाई थाहा भयो । सक्दो चिच्याए । तर अहँ
कसैले सुनेन ।
अवस्था सुन्ने खालको पनि त थिएन ।
काठमाडौंको गोंगबु क्षेत्रमा ऋषि च्यापिएका जस्ता अरु धेरै घर भत्किएका थिए
। दिन हो कि रात कुनै टुंगो भएन । ८२ घण्टा यसरी घरभित्र निस्सासिंदाको
अवस्था न त ऋषिले भन्न सक्छन् न त हामी लेख्न नै । यसबारे केवल अनुमान गर्न
सकिन्छ । अवस्था
कस्तो थियो भने उनी होशमा आएको केही घण्टामा मोबाइल बज्यो, तर मोबाइल
झिक्न हात गोजीसम्म पुर्याउन सक्ने अवस्था थिएन । भोक प्यासको कुनै सीमा नै
थिएन । बाँच्नका लागि हरसम्भव उपाय अपनाउनुको विकल्प थिएन । अनि उनले
आफ्नै पिसाव खाएर पनि प्यास मेट्ने निधो गरे ।
हल न चलसँग समय बित्दै जाँदा बिस्तारै
केही आवाज जस्तो सुनिन्थ्यो । अहिले सम्झँदा त्यो घर भत्काउन आएको डोजरको
थियो । त्यो सुन्दा उनलाई भगवान आएजस्तो लाग्थ्यो । तर मिलिक्कै त्यो आवाज
हराउँथ्यो ।
दिनरात याद नभएपनि उनको अनुमानमा २ दिनपछि
केही शव गन्हाउन थालेका थिए । तर बिस्तारै नाकले गन्ध पनि खुट्याउन
छोडेको थियो । बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो । पुरिएका बेला
सबैभन्दा धेरै याद आमा र छोराको आयो ।
पुरिएको
३ दिनसम्म पनि मानिसको चाल नपाएपछि बाँच्ने आश मर्यो । कोही उद्धार गर्न
आउँछन् भन्ने पनि लाग्न छाड्यो । बेला बेलामा आउने आवाजको पनि विश्वास
लाग्न छाड्यो । शरीर पुरै सेतो भैसक्यो, छाम्दा पनि छाला नै आउला जस्तो
लाग्थ्यो । मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा कस्तो हुँदो हो ?
तर अचानक कतैबाट उज्यालोका किरण उनको
आङसम्म परे । कस्तो अचम्म । अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ
किरण देख्न पाउला जस्तो भयो । उनी बोल्न सक्ने अवस्था थिएनन् । बिस्तारै
जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो । कोही
बोल्यो ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ । लाइट ल्याउ, लाइट
ल्याउ, अक्सिजन ल्याउ’ आदि आदि । अलिबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन आयो
। अक्सिजन आउन थालेपछि उनालाई खाना खाएजस्तो लाग्यो । सशस्त्र प्रहरी र
नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उनको मुखसम्म पानी
पु¥यायो ।
८२ घण्टा घरभित्र च्यापिएर बसेको मानिस
जसले केहीपल्ट आफ्नै पिसाव पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो
हो ? यसको पनि केवल अनुमान मात्र गर्न सकिन्छ । १२ गते पुरिएका ऋषिको १६
गते उद्धार भयो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जिते जस्तो लाग्यो ।
उनीसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । ‘खुट्टा नथिचिएको भए दाँतले
कोट्याएर भएपनि म बाहिर निस्कन्थे होला ।’ ऋषिले राति १२ बजे घरमा फोन
गर्नुभयो । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँग पनि मात्र सुकसुक
निस्कियो ।
मजदुरी गर्न भारतको देहरादुन पुगेका बाबु
छविलाल पनि १६ दिनमै नेपाल फर्कनुभयो । छोरोको माया मारिसकेका उहाँले
भारतबाट फर्कने क्रममा महेन्द्रनगरमा टेलिभिजनमा हेरेर थाहा पाउनुभयो छोरा
जिउँदै छ भनेर । तर सुरुमा विश्वासै लागेन ।
शरीरभरी चोटैचोट छन् । उपचारका क्रममा
देब्रे खुट्टा काटिएको छ । ऋषि अहिले शिक्षण अस्पतालमा छन् । बुबा छविलाल
छोराको हालत देखेर बेला बेलामा रुनुहुन्छ । छविलाल भन्नुहुन्छ ‘सग्लो
छोराको यो हालत देख्दा भक्कानो छुटेर आउँछ , तर उसँगै पुरिएका अरु सबै मरे
भन्ने सुन्दा लाग्छ म त भाग्यमानी रहेछु ।’
ऋषि अर्घाखाँची ढाकाबाङ–६ मा सामान्य
किसान परिवारमा जन्मेका हुन् । गाउँमा भएको थोरै जमिनले खान पुग्दैनथ्यो ।
घरको कमजोर अवस्थाका कारण ४ दाजुभाइमध्ये माइला छोरा ऋषिले धेरै पढ्न
पाएनन् । परिवार पाल्नका लागि ऋषिले बुबा भारतमा मजदुरी गर्न जानुपथ्र्यो ।
५६
वर्षको उमेरमा पनि बुबा मजुदुरी गर्न भारत जानुपरेको तथ्यले ऋषिलाई
दह्रोगरी चिमोट्यो । बुढा बाबुलाई कति मजदुरी गराउने भन्ने सोचेर आफैं
कामका लागि दुबई जाने निधो गरे । डेढलाख
रुपैयाँ खर्च गरेर विदेश जाने पक्का भयो । घरमा बुढी आमा, श्रीमती र ७
महिनाको छोरा छोडेर विदेश जान ऋषि वैशाख ९ गते घर छोडेका हुन् ।
वैशाख १४ गते उनले नेपाल छाड्ने तय थियो ।
४ महिनाजतिमा जाँदाको खर्च घर पठाउने र त्यसपछिको कमाइले गाउँमै अलिकति
जग्गा थप्ने र एउटा घर बनाउने सपना पुरा हुन्छ भन्ने अठोट थियो ऋषिको ।
उनी बाँचे यहि ठूलो कुरा भयो । एउटा
खुट्टा गुमाएर भएपनि उनले बाँकी जीवन जिउन पाउनेछन् । सपना पूरा हुनु नहुनु
अर्को कुरा । शरीर कमजोर भएपनि अरु सपना देख्नका लागि ऋषिसँग सिंगो जीवन
बाँकी नै रहनेछ । unn.com.np bata