म्याग्दीको सदरमुकाम बेनीबजारबाट ९
किलोमिटर उत्तरी क्षेत्र बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डमा पर्ने
भगवती–२ बैंसेरीमा पहिरो जाने क्रम रोकिएको छैन । राम्चे–९ काफलडाँडास्थित
महभिरमा शनिबार रातिदेखि खसेको पहिरो अझै नरोकिएको हो ।
पहिरोसँगै उडेको धुलोका कारण घटनास्थलमा
केही पनि देखिन सकेको छैन भने उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली
त्यसतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
धुँवाजस्तै धुलोको मुस्लो निरन्तर उडिरहेकाले कति पहिरो खसेको भन्ने बुझ्न
कठिन भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक हिराबहादुर गिरीले जानकारी
दिनुभयो । पहाडको
ढिस्को फुटेर पहिरो झरेपछि कालीगण्डकी नदी १२ घण्टादेखि थुनिएको छ ।
आइतबार बिहान १ बजे झरेको पहिरोले नदी थुनेपछि अहिले ठूलो ताल बन्दै
गैरहेको छ । पहिरोका
कारणले बैंसरीका १६ र काफलडाँडाका १० सहित २६ घर ध्वस्त भएका छन् भने ती
घरधुरीका १ सय २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । त्यसैगरी
कालीगण्डकी नदी पूर्णरुपमा थुनिएर ताल बनेपछि त्यो ताल जुनसुकै समयमा पनि
फुट्न सक्ने भएकाले खासगरी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान
निर्देशन दिइएको छ ।
त्यस्तै नदी उत्तरतर्फ फर्कन सक्ने भएकाले पनि उत्तरी म्याग्दीको वेगखोला,
दाना, भूरुङ–तातोपानी, नारच्याङलगायतका १० गाविस उच्च जोखिममा परेका छन् ।
नदी थुनिएसँगै बेनी–जोमसोम सडकखण्ड अबरुद्ध हुन पुगेको छ । बेनीको कालीपुल
बसपार्कसँगै अधिकांश क्षेत्र सुनसान बनेका छन् ।
सदरमुकामका बैंक तथा वित्तीय संस्था लकर सुरक्षाका लागि उच्च सतर्कतामा
रहेको बताइएको छ । यसैबीच काठमाडौंबाट प्राविधिकसहित टोली हेलिकप्टरमार्फत
घटनास्थलमा पुगेको छ ।
0 comments:
Post a Comment