प्रेमनारायण आचार्य
खन, अर्घाखाँची । फेसबुकको प्रयोग गर्न जाने फाइदा, नजाने घाटा ।
अहिले फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिस कमै छन्
।
अर्घाखाँचीको खन गाविसस्थित कालिका नेरा उच्च मावि १० थान कम्प्युटर प्रदान गरिँदै । तस्बिर : प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
साना देखि ठुला सबैको खुसी साट्ने र
विरह पोख्ने माध्यम सामाजिक सञ्जाल बनेका छन् । फेसबुकको दुरुपयोग गर्दा
कतिपय मानिसले साइबर क्राइम अन्तर्गत सजाय समेत भोगिरहेका छन् । अर्घाखाँचीमा भने फेसबुकबाटै आधुनिक शिक्षा अभियान सुरु भएको छ ।
फेसबुक च्याटबाटै जिल्लामा आधुनिक शिक्षा अभियानको सञ्चालन गरिएको हो । न त
कुनै सरकारी बजेट न त कुनै देशी तथा विदेशी गैरसरकारी संस्थाहरुको सहयोग ।
देश छाडेर रोजगारीमा विदेशिएका युवाहरुकै पहलमा यो सम्भव भएको हो । इच्छाशक्ति हुने हो भने गर्न नसकिने काम केही नहुने कुराको पुष्टि
अर्घाखाँचीका युवाहरुले गरेका छन् । उनीहरुले फेसबुककै प्रयोग गरेर
जिल्लाका सबै विद्यालयमा वैज्ञानिक र कम्प्युटर शिक्षा प्रदान गर्न आधुनिक
शिक्षा अभियान सञ्चालन गरेका छन । ६ महिनाअघि फेसबुकबाटै शुरु अभियानका क्रममा डिभर्ना गाविसमा रहेको
बिजय उच्च माध्यमिक विद्यालय र खन गाविसमा रहेको कालीका नेरा उच्च माविमा
१० थान कम्प्युर हस्तान्तरण गरिएको छ । अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान संस्था जिल्ला प्रशासन कार्यलय
अर्घाखाँचीमा दर्ता गरी त्यसको अभियानबारे फेसबुकमा जानकारी गराएपछि
विदेशमा रोजागरी गरिरहेका युवाहरु सहयोगका लागि कसिएका हुन् । अभियानबारे फेसबुकमा जानकारी गराएपछि सहयोग जुट्न थालेको अभियानका
परिकल्पनाकार राजु खड्काले बताए । कम्पयुटर र प्राविधिक शिक्षा नहुँदा
नेपाली विदेशिनु परेको र विदेशमा पनि राम्रो काम पाउन प्रविधियुक्त शिक्षा
आवश्यक रहेकाले यो अभियान शुरु भएको हो, खड्काले भने, मैले जस्तै सिप र
प्रविधि नजान्दा विदेशमा गएका अर्घाखाँचीका युवायुवतीले पाएको दुःख र कष्ट
अबका पुस्ताले ब्योहर्न नपरोस भनी यो अभियान थालेका हौं । यो अभियानमा जसले जहाँबाट सहयोग जुटाए पनि सहयोग गर्ने मानिसको नाम र
सहयोग रकम फेसबुकको पेजमै राखिन्छ । सहयोग पारदर्शी हुने भएकाले सहयोगीहरु
पनि बढ्ने क्रम जारी छ । बहराइनमा रहेका संस्थाका अध्यक्ष युवराज खत्रीको सक्रियतामा विजय
उमाविमा १० थान कम्प्युटर प्रदान गरिएको छ । त्यस्तै खनका युवा युवतीको
सहयोगमा १० थान कम्प्युटर वितरण गरिएको छ । यसलगत्तै सार्बजनिक उच्च मावि छत्रगञ्ज, सुधा उच्च मावि जुकेना, सिद्ध
मावि बागी, ज्ञानप्रकाश मावि सल्लीकोट डिभर्ना, सरस्वती मावि सितापुर ,
शिवमदन उमावि सतिनेटा र नुवाकोट मावि चिदीचौरमा शैक्षिक सामाग्री
हस्तान्तरण गरिने सस्थाका महासचिव सुदन खड्काले बताए । सार्वजनिक उच्च मावि छत्रगञ्जको लागि भारतमा रहेका मोहन रानाभाट,
सुधा उच्च मावि जुकेनाको लागि अफ्रिकामा रहेका तुलसीराम भण्डारी र
मलेसियामा रहेका युवराज पौडेल, सिद्ध मावि बागीको लागि कतारमा रहेका
रामप्रसाद पराजुलीले सहयोग संकलन गरिरहेका छन् ।
त्यस्तै ज्ञानप्रकाश माबि सल्लीकोट डिभर्नाको लागि बहराइनका रामु
घिमिरे, सरस्वती मावि सितापुरका लागि दुबईमा रहेका भीम खनाल र श्याम खनाल,
शिवमदन उमावि सतिनेटाको लागि दुबईमा रहेका श्रीधर महत्रा र नुवाकोट मावि
चिदीचौरकालागि बहराइनमा रहेका सुर्य थापा शैक्षिक सामाग्रीका लागि सहयोग
जुटाएर छिटै हस्तान्तरण गरिने अभियानका अध्यक्ष युवराज खत्रीले बताए । त्यसैगरी जिल्लामा रहेका सम्पुर्ण उच्च मावि, मावि , निमावि र
प्राविमा सहयोग जुटाई शैक्षिक सामाग्री हस्तान्तरण गरिने बताइएको छ ।
समयअनुसारको प्रविधियुक्त शिक्षा दिन यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने
अपेक्षा गरिएको छ ।

0 comments:
Post a Comment