अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख
१५ –भूकम्पको कारण काठमाडौंका सबैजसो अस्पतालमा घाइते तथा बिरामीको भिड
लागेको छ । हाम्रो टोली ट्रमा सेन्टर पुग्दा सयौं घाइतेको उपचार भैरहेको
थियो ।
ट्रमा सेन्टरको भुँइतलामा रहेको आकस्मिक
कक्षको गेटैमा एकजना घाइते युवा बेडमा पल्टिरहेका थिए । उनको शरीरभरि
चोटैचोट थियो । अनुहारमा पनि निकै चोट थियो । शरीरमा रगतका टाटाहरु थिए ।
नजिकै उनकी आमा छोराको हालत हेर्दे टोलाइरहेकी थिइन् ।
अरु घाइतेसित कुरा गर्दा उनी घरिघरि
हामीतिर आँखा लगाउँथे, मानौ बोल्नका लागि उनी पनि पालो पर्खिरहेका छन् ।
आँखैले कुरा गर्ने चाख देखाएपछि मैले कुराकानीको लागि अनुरोध गरेँ,
कुराकानीका लागि उनी तयार भए । नाम
कृष्ण रम्तेल । घर धादिङ । पुरै खुट्टाभरि पलाष्टर गरिएको थियो, मैले सोधे
तपाँइ कहाँबाट खसेर घाइते हुुनुभयो ? एकछिन रोकिएर उनले भने ‘धरहराबाट
खसेर यो गति भएको हो ।’
धरहराबाट !?
धरहराबाट !?
कुराकानीका लागि अब चासो देखाउने पालो अब
मेरो थियो । नेपालकै धरोहर मानिएको र बर्षौ लामो इतिहास बोकेको धरहरा
भूकम्पले ढालेको थियो । ढलेको धरहरा उठ्छ उठ्दैन कसैलाई थाहा छैन, तर,
धरहराको भविष्य अनिश्चित हुँदा पनि धरहरासँगै ढलेर भुईमा पुगेका यी युवाको
जिन्दगीले भविष्यको सुनिश्चित बाटो तय गरिसकेको थियो । उनको जीउका घाउमा
खाटा बस्न थालेका थिए ।
धादिङका कृष्ण रम्तेल काठमाडौं आएको ५
बर्ष भयो । तर उनी कहिल्यै धरहरा चढेका थिएनन् । धरहरा चढ्ने धोको पुरा
गर्न कृष्ण शनिबार बिहान ११ बजे धरहरा पुगे । टिकट लिएर रम्तेलले नजिकैको
पसलमा जुस खाए । साढे एघार बजेतिर उनि धरहरा चढ्न सुरु गरे ।
धरहराका जति सिंढि उक्ले, उत्ति नै पुर्खालाई सम्झे, किनकि पुर्खाले यति
राम्रा संरचना बनाएका छन् । कहिल्यै नचढेको तर देखेको मात्र स्तम्भ धरहरा
चढ्दा उनको मन फुरुङ्ग थियो । धरहराको टुप्पोबाट राजधानी नियाल्ने उनको
इच्छा पुरा हुदै थियो । उनी धरहराको टुप्पोमा पुगेर कौसीबाट काठमाडौंको
दृष्य हेरे ।
केही बादल लागे पनि काठमाडौं निकै सुन्दर
देखे र अनुभव गरे, काठमाडौं साच्चै सुन्दर रहेछ । तर सोचे घरैघरले
काठमाडौंको सौन्दर्य घरले बिगारी सकेछन् । धरहराबाट काठमाडौंको दृष्य
हेर्दै गर्दा उनलाई रिंगटा लाग्यो । के कारणले रिंगटा लाग्यो सोच्न नपाउदै
उनी बेहोस भए ।
एकछिन पछि केही होस आएजस्तो भयो । कसैले
नजिकैको सडकमा लगेर प्राथमिक उपचार गरिरहेको थियो जस्तो लाग्यो । सपनामा
जस्तो, विपनामा जस्तो, उडेको जस्तो, कुदेको जस्तो कस्तो कस्तो अनुभव गर्दा
गर्दै रम्तेल फेरि ढले । त्यो बेला रम्तेलको शरीरमा कुनै पीडा थिएन । उनी
अर्धचेतन अवस्थामा थिए । जब भुकम्पको दोस्रो झट्का लाग्यो उनी पुरै बेहोस
भए ।
होसमा आउँदा कृष्ण रम्तेललाई निकै पीडा
भयो । शरीरभरि चोटैचोट थिए । रगतका टाटा धेरै थिए । उनको साथमा आमा थिइन् ।
उनी अस्पतालमा थिए । कस्ले कसरी अस्पताल पु¥यायो र आमालाई सम्पर्क गर्यो
भन्ने उनलाई अहिले पनि सम्झना र जानकारी छैन ।
उनलाई कम्मरमुनिको भाग नचलेको जस्तो लाग्छ
। उपचार ढिलो भएकोमा उनको गुनासो छ । खुट्टाको प्लाष्टर अस्ति नै
गर्नुपर्ने भए पनि सोमबारमात्र कृष्णको जीउका धेरै भागमा प्लाष्टर गरियो ।
कृष्णको शरीर दुखेर हलचल गर्न हुदैन ।
निकै दुखित मुद्रामा कृष्णकी आमाले सबै कुरा सुनिरहेकी थिइन । छोराको यो
हालत देखेर उनको मन विक्षिप्त भएको थियो । केही कुरा गर्न अनुरोध गर्दा उनी
रोइरहिन्, बोल्न सकिनन् ।
मानविकी संकायमा स्नातकोत्तर तहको शिक्षा
पुरा गरेका रम्तेल एउटा निजी कम्पनीमा बजार व्यावस्थापकको काम गर्छन ।
भुकम्प आएदेखि नै बाहिरको खबर बुझ्न नपाएका रम्तेलले बाहिर भएको भईचालोको
डरलाग्दो क्षतिको कल्पना पनि गरेका छैनन ।
अस्पतालमा घाइतेको भीड भएकोले उनलाई
अस्पतालले भोलि नै घर जान भनेको छ । तर, काठमाडौंको बनस्थलीस्थित कोठाको
अवस्था कस्तो छ, थाहा छैन । भन्छन्, घर पक्की नै थियो, सायद भत्केको छैन कि
।
धरहराबाट खसेका धेरैजनाको ज्यान गए पनि
रम्तेल यस्ता भाग्यमानी हुन्, जो धरहराबाट खसेर पनि बाचे । तर घाईते रम्तेल
भन्छन् ‘तर म बाँचेको छु भन्नेमा मलाई नै विश्वास छैन ।’
unn.com.np bata
0 comments:
Post a Comment