Tuesday, April 28, 2015

अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, वैशाख १५ –भूकम्पको कारण काठमाडौंका सबैजसो अस्पतालमा घाइते  तथा बिरामीको भिड लागेको छ । हाम्रो टोली ट्रमा सेन्टर  पुग्दा सयौं  घाइतेको उपचार भैरहेको थियो । 
ट्रमा सेन्टरको भुँइतलामा रहेको आकस्मिक कक्षको गेटैमा एकजना घाइते युवा बेडमा पल्टिरहेका थिए । उनको शरीरभरि चोटैचोट थियो । अनुहारमा पनि निकै चोट थियो । शरीरमा रगतका टाटाहरु थिए । नजिकै उनकी आमा छोराको हालत हेर्दे टोलाइरहेकी थिइन् ।
अरु घाइतेसित कुरा गर्दा उनी घरिघरि हामीतिर आँखा लगाउँथे, मानौ बोल्नका लागि उनी पनि पालो पर्खिरहेका छन् । आँखैले कुरा गर्ने चाख देखाएपछि मैले कुराकानीको लागि अनुरोध गरेँ,  कुराकानीका लागि उनी तयार भए । नाम कृष्ण रम्तेल । घर धादिङ । पुरै खुट्टाभरि पलाष्टर गरिएको थियो, मैले सोधे तपाँइ कहाँबाट खसेर घाइते हुुनुभयो ? एकछिन रोकिएर उनले भने ‘धरहराबाट खसेर यो गति भएको हो ।’
धरहराबाट !?
कुराकानीका लागि अब चासो देखाउने पालो अब मेरो थियो । नेपालकै धरोहर मानिएको र बर्षौ लामो इतिहास बोकेको धरहरा भूकम्पले ढालेको थियो । ढलेको धरहरा उठ्छ उठ्दैन कसैलाई थाहा छैन, तर, धरहराको भविष्य अनिश्चित हुँदा पनि धरहरासँगै ढलेर भुईमा पुगेका यी युवाको जिन्दगीले भविष्यको सुनिश्चित बाटो तय गरिसकेको थियो । उनको जीउका घाउमा खाटा बस्न थालेका थिए ।
धादिङका कृष्ण रम्तेल काठमाडौं आएको ५ बर्ष भयो । तर उनी कहिल्यै धरहरा चढेका थिएनन् । धरहरा चढ्ने धोको पुरा गर्न कृष्ण शनिबार बिहान ११ बजे धरहरा पुगे । टिकट लिएर रम्तेलले  नजिकैको पसलमा जुस खाए । साढे एघार बजेतिर उनि धरहरा चढ्न सुरु गरे ।
 धरहराका जति सिंढि उक्ले, उत्ति नै पुर्खालाई सम्झे, किनकि पुर्खाले यति राम्रा संरचना बनाएका छन् । कहिल्यै नचढेको तर देखेको मात्र स्तम्भ धरहरा चढ्दा उनको मन फुरुङ्ग थियो । धरहराको टुप्पोबाट राजधानी नियाल्ने उनको इच्छा पुरा हुदै थियो । उनी धरहराको टुप्पोमा पुगेर कौसीबाट काठमाडौंको दृष्य हेरे ।
केही बादल लागे पनि काठमाडौं निकै सुन्दर देखे र अनुभव गरे, काठमाडौं साच्चै सुन्दर रहेछ । तर सोचे घरैघरले काठमाडौंको सौन्दर्य घरले बिगारी सकेछन् । धरहराबाट काठमाडौंको दृष्य हेर्दै गर्दा उनलाई  रिंगटा लाग्यो । के कारणले रिंगटा लाग्यो सोच्न नपाउदै उनी  बेहोस भए ।
एकछिन पछि केही होस आएजस्तो भयो । कसैले नजिकैको सडकमा लगेर प्राथमिक उपचार गरिरहेको थियो जस्तो लाग्यो । सपनामा जस्तो, विपनामा जस्तो, उडेको जस्तो, कुदेको जस्तो कस्तो कस्तो अनुभव गर्दा गर्दै रम्तेल फेरि ढले । त्यो बेला रम्तेलको शरीरमा कुनै पीडा थिएन । उनी अर्धचेतन अवस्थामा थिए । जब भुकम्पको दोस्रो झट्का लाग्यो उनी पुरै बेहोस भए ।  
होसमा आउँदा कृष्ण रम्तेललाई निकै पीडा भयो । शरीरभरि चोटैचोट थिए । रगतका टाटा धेरै थिए । उनको साथमा आमा थिइन् । उनी अस्पतालमा थिए । कस्ले कसरी अस्पताल पु¥यायो र आमालाई सम्पर्क गर्‍यो भन्ने उनलाई अहिले पनि सम्झना र जानकारी छैन ।
उनलाई कम्मरमुनिको भाग नचलेको जस्तो लाग्छ ।  उपचार ढिलो भएकोमा उनको गुनासो छ ।  खुट्टाको प्लाष्टर अस्ति नै गर्नुपर्ने भए पनि सोमबारमात्र कृष्णको जीउका धेरै भागमा प्लाष्टर गरियो ।
कृष्णको शरीर दुखेर हलचल गर्न हुदैन । निकै दुखित मुद्रामा कृष्णकी आमाले सबै कुरा सुनिरहेकी थिइन । छोराको यो हालत देखेर उनको मन विक्षिप्त भएको थियो । केही कुरा गर्न अनुरोध गर्दा उनी रोइरहिन्, बोल्न सकिनन् ।
मानविकी संकायमा स्नातकोत्तर तहको शिक्षा पुरा गरेका  रम्तेल एउटा निजी कम्पनीमा बजार व्यावस्थापकको काम गर्छन । भुकम्प आएदेखि नै बाहिरको खबर बुझ्न नपाएका रम्तेलले बाहिर भएको भईचालोको डरलाग्दो क्षतिको कल्पना पनि गरेका छैनन ।
अस्पतालमा घाइतेको भीड भएकोले उनलाई अस्पतालले भोलि नै घर जान भनेको छ । तर, काठमाडौंको बनस्थलीस्थित कोठाको अवस्था कस्तो छ, थाहा छैन । भन्छन्, घर पक्की नै थियो, सायद भत्केको छैन कि ।
धरहराबाट खसेका धेरैजनाको ज्यान गए पनि रम्तेल यस्ता भाग्यमानी हुन्, जो धरहराबाट खसेर पनि बाचे । तर घाईते रम्तेल भन्छन् ‘तर म बाँचेको छु भन्नेमा मलाई नै विश्वास छैन ।’

unn.com.np bata
Categories:

0 comments:

Post a Comment