आफ्नै काका श्रीप्रसाद गुरुङले मासिक
डेढलाख रुपैंया तलब पाइने बताएपछि धादिङका सुब्बा गुरुङ नेपाली सेनाको
जागिर छाडेर सेक्यूरिटी गार्डका लागि नाइजेरिया पुग्नुभयो । काकालाई चार
लाख रुपैयाँ बुझाएर अफ्रिकी देश नाइजेरिया पुगेका गुरुङलाई त्यहाँ समलिंगी
बन्न प्रस्ताव गरियो । होटेलमा तीन महिनासम्म नजरबन्दमा बसेपछि अनेक
समस्यासँग जुध्दै नेपाल फर्किएका गुरुङलाई पछि मात्र थाहा भयो त्यहाँ
समलिङ्गी बन्न बेचिएको रहेछ ।
सिन्धुपाल्चोकको तातोपानीमा निर्माणाधीन
सुक्खा बन्दरगाहमा कार्यरत बानियाँटार–१ बर्दियाका भुरे थारूको खासामा
ज्यान गएपछि अनुसन्धानका क्रममा उहाँलाई खासा बजारको डान्स रेस्टुरामा
बेचेको खुलासा भयो । खासामा बढ्दै गइरहेको यौन व्यवसायमा पुरुष वेश्या
बनाउन बेचिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कुनै समय मानवतस्करी तथा बेचबिखन भन्ने
वित्तिकै नेपाली युवतीलाई बेश्याबृत्तिका लागि भारतको मुम्बईमा पुर्याइने
बुझिन्थ्यो । तर पछिल्लो समय मानव तस्करले पुरुषलाई समेत बेच्न बाँकी
राखेका छैनन् । नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाएर धादिङका सुब्बा गुरुङ र
बर्दियाका भुरेथारु जस्ता धेरै युवा चीन, इरान, अफगानिस्तानदेखि युरोप
अमेरिका तथा अफ्रिकी मुलुकमा बेचेको हुन थालेको विभिन्न घटनाले पुष्टि
भैसकेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
व्यूरो सीआईबीका निर्देशक, प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल भन्नुहुन्छ
‘पुरुष पनि बेचिन्छन् भन्ने मलाई पनि थाहा थिएन, तर अनुसन्धान गर्दै जाने
क्रममा पुरुष पनि विभिन्न कामको लागि बेचिने गरेको पाईयो ।’ आकर्षक तलबको
लोभमा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली युवालाई जब अबैध काममा
लगाइन्छ त्यतिबेला मात्र आफू बेचिएको महसुस गर्ने गरेको प्रहरी नायब
महानिरीक्षक मल्ल बताउनुहुन्छ।
उहाँका अनुसार गैरकानुनी रुपमा खुलेका
कम्पनीले नेपाल युवा ओसारेर दिने र विदेशमा अवैध भनिएका कामहरुमा जबरजस्ती
लगाइने गरेको पाइएको छ ।
जानकारहरुका अनुसार बेचिएका कतिपय
पुरुषलाई मिर्गाैला, कलेजो, र रगत दान गर्न लगाइन्छ । नाम चलेका राष्ट्रका
लागि आकर्षक कमाईको लोभ देखाएपछि दलाल सामू शिक्षित पुरुष समेत झुक्ने
गरेकाले पुरुष बेचबिखन बढिरहेको मानव बेचविखनको क्षेत्रमा कार्यरत माइती
नेपालका निर्देशक विश्व खड्का बताउनुहुन्छ ।
उहाँका अनुसार अवैध बाटो भएर अमेरिका
लैजाने क्रममा कन्टेनर तथा पानी जहाजमै कतिपय युवाको ज्यान जाने गरेको छ ।
मानव तस्करले अमेरिका तथा युरोपको सपना बाँडेपछि स्नातकोत्तर गरेर स्वदेशमै
जागीर खाईरहेकाहरु समेत मान प्रतिष्ठा भुलेर तस्करको पञ्जामा पर्ने गरेको
खड्का बताउनुहुन्छ ।
दलालको लहलहैमा नपरी विदेश जानु अघि आफू
जान लागेको देश, गर्ने काम, पाउने सेवा सुविधा र सरकारी निकायबाट स्वीकृति
प्राप्त कम्पनी हो वा होइन भन्ने बारे स्पष्ट भएर जाने हो भने बेचिने
सम्भावना कम हुने निर्देशक खड्काको भनाई छ ।
खड्का भन्नुहुन्छ ‘सुरक्षित आप्रवासन
सम्बन्धी सूचना दिने धेरै संघसंस्थाहरु छन्, प्रहरी, जिल्ला प्रशासन
कार्यालय, रेडियो पत्रपत्रिका, हामी जस्तो मानव बेचबिखनको क्षेत्रमा काम
गर्ने संस्था कयौं छन् जुन भरपर्दो लाग्छ त्यहीबाट सूचना लिएर मात्र विदेश
यात्रा तय गर्ने हो भने कहिल्यै ठगिने र बेचिने सम्भावना हुदैन, नत्र
कहिल्यै फर्किन नपाउने गरी बेचिन सक्छ ।’
बेचिएका मानिसलाई बन्धक बनाईने हुँदा
नजिकको व्यक्तिसँग समेत सम्पर्क टुट्ने हुँदा पुरुष बेचविखनका घटना
हत्तपत्ति बाहिर आउँदैनन् । बेचबिखनमा परेका व्यक्ति उम्किन सफल भए मात्र
त्यस्ता उजुरी प्रहरी सम्म आईपुग्ने हुँदा पुरुष बेचिएका उजुरीहरु उल्लेख्य
मात्रमा परेका छैनन् । उजुरी सुन्ने निकायसम्म नआएका यस्ता घटना असंख्य
रहेको प्रहरी अनुमान छ । unn.com.np bata copy
0 comments:
Post a Comment