भूकम्पका कारण देशभर ज्यान जानेको संख्या ४
हजार नाघेको छ । अहिलेसम्म ४ हजार ३ सय ४७ जनाको ज्यान गएको पुष्टि भएको
गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार १ सय ५४ जना
घाइते भएका छन् । देशभरका भूकम्प प्रभावित क्षेत्रबाट क्षतिको विवरण संकलन
गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यस्तै उद्धार तथा राहतको काम
मंगलबार अझै प्रभावकारी बन्ने सरकारले दाबी गरेको छ ।
एकैपटक धेरै ठाउँमा काम गर्नुपर्ने भएकाले
समस्या भएपनि खोज तथा उद्धारलाई प्राथमिकता दिएर काम गरिएको गृह
मन्त्रालयले जनाएको छ । भूकम्पमा परेकाहरूको सहायताको लागि विभिन्न देशबाट
आएका उद्धार टोली र चिकित्सकहरू देशका विभिन्न ठाउँमा खटेर उद्धारमा सक्रिय
छन् ।
सरकारले काम भैरहेको बताएपनि पीडितहरुले
भने राहत नपाएको गुनासो गरेका छन् । राहत सामाग्री उपलब्ध नहुँदा तथा बजार
पसल खुला नहुँदा सामान किनेर पनि खान नपाएको उनीहरुको भनाई छ । काठमाडाैंको
साँखु, नाङ्लेभारे, ललितपुरको चापागाउँ, बुँगमति, खोकना, लेले लगायतका
ठाउँमा अझै पनि उद्धार तथा राहत नपुगेको स्थानीयबासिन्दाले जनाएका छन् ।
भक्तपुरका कतिपय ठाउँमा अहिलेपनि
सुरक्षाकर्मी र उद्धारको काम थाल्न सकिएको छैन । भुकम्प पीडितका लागि
विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्दारका लागि
सहयोगको घोषणा गर्ने क्रम जारी छ ।
0 comments:
Post a Comment